दफा
घर जग्गा करको भुक्तानी

(१) यस ऐन बमोजिम कर निर्धारण आदेश प्राप्त भएपछि करदाताले सो आदेश प्राप्त भएको मितिले पैंतीस दिनभित्र त्यस्तो करको रकम सम्बन्धित कर कार्यालयमा दाखिल गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको म्यादभित्र करदाताले कर दाखिल नगरेमा निजले बुझाउनु पर्ने कर रकमको वार्षिक पन्ध्र प्रतिशत शुल्क समेत लगाई कर अधिकृतले निम्नलिखित तरीका अपनाई कर असूल–उपर गर्नेछ:-

(क) करदाताको चल वा अचल सम्पत्ति रोक्का गर्ने,

(ख) करदाताको नाममा कुनै सरकारी कार्यालय वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थामा रहेको धरौटी वा त्यस्तो कार्यालय वा संस्थाले करदातालाई तिर्नु वा बुझाउनु पर्ने रकम रोक्का गर्ने वा त्यस्तो रकम कर कार्यालयमा दाखिल गर्न लगाउने,

(ग) करदाताको कारोबार तथा निकासी पैठारी रोक्का गर्ने,

(घ) करदाताको नाममा रहेको चल वा अचल सम्पत्ति सबै वा केही एक पटक वा पटक–पटक गरी प्रचलित कानूनबमोजिम लिलाम–बिक्री गर्ने ।

(३) उपदफा (२) को खण्ड (घ) बमोजिम करदाताको सम्पत्तिको लिलाम बिक्रीको कारवाई शुरू भै सकेपछि लिलाम बिक्री समाप्त हुनु अगावै कर रकम दाखिल गर्न ल्याएमा लाग्ने कर र शुल्कको कूल रकमको सयकडा पाँचका दरले थप शुल्क समेत लिई लिलाम बिक्री बन्द गर्न सकिनेछ ।

(४) उपदफा (२) को खण्ड (घ) बमोजिम करदाताको सम्पत्तिको लिलाम–बिक्रीबाट उपर भएको रकम निज करदातासंग असूल गर्न बाँकी भएको रकम भन्दा बढी भएमा त्यस्तो बढी भएको रकम करदातालाई फिर्ता गरिनेछ ।

(५) उपदफा (२) को खण्ड (घ) बमोजिम करदाताको सम्पत्ति लिलाम बिक्री गर्दा कसैले सकार नगरेमा त्यस्तो सम्पत्तिको स्वामित्व नेपाल सरकारमा सर्नेछ ।